Sunday, July 19, 2026

बिहारबाट उठेको जनचेतना अब तराई–मधेसमा

भारतको बिहार राज्यमा पछिल्ला वर्षहरूमा एक गहिरो राजनीतिक रूपान्तरणको संकेत देखिएको छ। यो रूपान्तरण कुनै पार्टी विशेषको जित–हारमा मात्र सीमित छैन, यो जन–राजनीतिमा आम मानिसको सहभागिता र चेतनाको पुनर्जागरण हो। र यसको केन्द्रमा छन्—प्रशान्त किशोर।

राजनीतिक रणनीतिकारका रूपमा पहिचान बनाइसकेका प्रशान्त किशोरले ‘जनसुराज अभियान’ को माध्यमबाट राजनीति फेरि जनताको हातमा फिर्ता ल्याउने प्रयास थालेका छन्। उनले राजनीतिलाई पार्टीको पर्खालबाट निकालेर सिधा गाउँ–टोल, खेत खलिहान, र जनताको मन–मस्तिष्कसम्म पुर्याएका छन्। यही सन्देश अहिले नेपालका तराई–मधेसका भू–भागमा पनि प्रभाव पार्न थालेको छ। जनसुराजको मोडल विशुद्ध रूपमा विकासमुखी, सहभागी र पारदर्शी राजनीति हो। कुनै राजनीतिक दलको छायाँमा होइन, जनताको साथमा बनेको यो अभियानले शिक्षा, स्वास्थ्य, भ्रष्टाचार, रोजगारी जस्ता आधारभूत विषयमा गहन संवाद सुरु गरेको छ। प्रशान्त किशोरको यो शैलीले नेपालको तराई–मधेसमा पनि आम जनताको ध्यान खिच्न थालेको छ।

विशेषतः युवापुस्ता बीच अब यस्तो प्रश्न उठ्न थालेको छ:
“हामीकहाँ पनि यस्तो राजनीतिक मोडल किन नहोस्?”
नेपालको तराई–मधेसका धेरै भूभागमा विगत दशकदेखि एउटै राजनीतिक अनुहार, उस्तै भाषण र उही असफलता दोहोरिरहेकै छन्।अधिकारका नाममा राजनीति गर्नेहरू आफैं विशेषाधिकारको जालमा फसेका छन्।शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारी जस्ता विषयमा सुधारको साटो वाचा र नारामै राजनीति अडिएको छ।
यस सन्दर्भमा प्रशान्त किशोरको राजनीति एउटा चेतनामूलक झट्का जस्तै देखिन थालेको छ।

उनको नम्रता, स्पष्ट दृष्टिकोण, र गम्भीर ढंगले जनसंवाद गर्ने तरिकाले नेपाली युवामा पनि अब राजनीति केवल “पावर लिने माध्यम” होइन, सेवाको माध्यम बन्न सक्छ भन्ने बिश्वास पलाएको छ। सीमाना सँगै रहेका गाउँहरू—जस्तै बिहारसँग जोडिएका नेपालका बारा, पर्सा, रौतहट ,सर्लाही, महोत्तरी लगायतका जिल्लामा अब जनस्तरमा राजनीतिक बहस र वैकल्पिक सोचहरू उठ्न थालेका छन्। “हामीले पनि नेता होइन, नीति खोज्ने समय आएको छ” भन्ने स्वरहरू बलियो बन्दै गएका छन्।

यो चेतनाको फैलावट लोकतन्त्रको स्वस्थ संकेत हो। तर यसलाई कार्यान्वयनमा रूपान्तरण गर्न स्थानीय युवाहरूको जागरण र संगठन आवश्यक छ।

अब प्रश्न हामीमाथि छ:
के हामी यो चेतनालाई केवल हेरिरहन्छौं, वा यसबाट सिकेर आफ्नै समाजमा परिवर्तन ल्याउने नेतृत्व उठाउँछौं?
लेखक : सुनिल प्रसाद कुशवाहा
समाजिक अभियान्ता

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर