युनिक यादव, बारा । बारामा रहेको १६ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएका छन । संवैधानिक व्यवस्था बमोजिम स्थानीय तहले असार १० गते भित्र आगामी वर्षको बजेट ल्याउनै पर्छ । जिल्लाको प्रायः सबै स्थानीय तहको प्राथमिकता कृषि, शिक्षा,स्वास्थ्य र सडक पूर्वाधार नै रहेको छ ।
बारामा दुई उपमहानगर, ५ नगरपालिका, ९ गाँउपालिका रहेका छ्न । जिल्लामा सबैभन्दा बढी बजेट जीतपुरसिमरा उपमहानगरपालिकाले ल्याएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाले २ अर्ब १० करोड ५० लाखको बजेट ल्याएको हो । नगर प्रमुख राजन पौडेलले नगरसभामा विवाद बढ्दै कुर्सी हानाहानका बीच बजेट ल्याएका हुन । आगामी वर्षका लागि प्रस्तुत भएको बजेट चालू वर्षको तुलनामा बढेको छ । सार्वजनिक तथ्यांकअनुसार ९ करोड रुपैयाँले बढेको हो । त्यसैगरी कलैया उपमहानगरपालिकाले १ अर्ब ५१ करोड ९१ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख रौशन परविनले १३औं नगर सभाको बैठकमा आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गरेकी हुन । कलैया उपमहानगरको बजेट भने घटेको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष १ करोड ३७ लाख बजेट उपमहानगरले घटाएर ल्याएको छ ।
निजगढ नगरपालिकाले ९० करोड एक लाखको बजेट ल्याएको छ भने महागढीमाई नगरपालिकाले ७७ करोड ५४ लाख ९८ हजार ५ सय रुपैयाँ बराबरको बजेट ल्याएको हो । त्यस्तै कोल्हवी नगरपालिकाले ६८ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सिम्रौनगढ नगरपालिकाले ६४ करोड ७२ लाख ३६ हजार ,पचरौता नगरपालिकाले ६१ करोड ४३ लाख बजेत सार्वजनिक गरेको हो ।
त्यसैगरी गाँउपालिकाहरुमा सबै भन्दा बढी बजेट प्रसौनी गाँउपालिकाले ल्याएको छ । प्रसौनी गाँउपालिकाले ४७ करोड ५ लाखको बजेट प्रस्तुत गरेको हो । त्यस्तै आदर्श कोतवाल गाँउपालिकाले ४५ करोड ५२ लाख ७८ हजार , करैयामाई गाँउपालिकाले ४१ करोड ५१ लाख, फेटा गाउँपालिकाले ४१ करोड २१ लाख, बारागढी गाउँपालिकाले ३९ करोड ३९ लाख ७३ हजार, सुवर्ण गाउँपालिकाले ३९ करोड १ लाख १७ हजार, देवताल गाउँपालिकाले ३४ करोड ७३ लाख ४४ हजार,परवानीपुर गाउँपालिकाले ३४ करोड ५७ लाख ६९ हजार र विश्रामपुर गाउँपालिकाले ३१ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको हो ।
करैयामाई गाँउपालिकाले प्रस्तुत गरेको बजेट सम्बन्धि रकम हामीले समाचार तयार गर्दा गलत हुन गएकोमा क्षमायाचना सहित सच्च्याइएको छ । -सम्पादक