१२ असार, बारा । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बारा जिल्ला सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बढ्दो लागु औषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वास्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि यो दिवस मनाउने गरिन्छ ।
दिवसको अवसरमा बारा जिल्लामा पनी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । जिल्ला प्रहरी कार्यालय बारा र समाज सेवा सुधार युवा नेपाल कलैया, बाराको संयुक्त आयोजनामा सदरमुकाम कलैयामा लागु औषध सम्बन्धि सचेतनामुलक र्याली कार्यक्रम आयोजना गरिएको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का , सशस्त्र प्रहरी उपरीक्षक संतोष बहादुर सिंह, राष्ट्रिय अनुसन्धानका उप-अनुसन्धान निर्देशक दिपक खड्का, नेपाली कांग्रेसका जिल्ला सचिव राजेश रौनियार , अन्तर्राष्ट्रिय कवडी खेलाडी फुलमहम्द मंसुर लगायत जनप्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधि , संचारकर्मी, सुरक्षाकर्मी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।