कलैया, १६ जेठ। बारामा आयोजना हुने सुशिल चौगाई अन्तरविद्यालय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतको यु-१४ जिल्ला स्तरिय छनोट प्रतियोगिता जेठ १७ गतेदेखि सुरु हुँदैछ। प्रतियोगितामा १२ वटा विद्यालय सहभागी हुने छन्, जसलाई चारवटा समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा मेरिगोल्ड, गढीमाई र ग्यालेक्सी पब्लिक विद्यालय छन् भने समूह ‘बी’ मा मनकामना, सोना एकेडेमी र बाल एकता विद्यालय रहेका छन्। त्यस्तै, समूह ‘सी’ मा ज्ञानदीप, सिद्धिविनायक र ब्राइट ल्याण्ड रहेका छन् भने समूह ‘डी’ मा शान्ति निकेतन, इन्टरनेशनल र मेरो एकेडेमी सहभागी छन्।
प्रतियोगिताको पहिलो दिन जेठ १७ गते ग्यालेक्सी र मेरिगोल्डबीच खेल हुनेछ। सोही दिन दोस्रो खेल बाल एकता र मनकामनाबीच हुनेछ। जेठ १८ गते गढीमाई र मेरिगोल्ड तथा सोना एकेडेमी र मनकामनाबीच प्रतिस्पर्धा हुनेछ। फागुन १९ गते गढीमाईले ग्यालेक्सीसँग तथा सोना एकेडेमीले बाल एकतासँग प्रतिस्पर्धा गर्नेछ।
जेठ २० गते ब्राइट ल्याण्ड र सिद्धिविनायक तथा शान्ति निकेतन र इन्टरनेशनलबीच खेल हुनेछ। जेठ २१ गते इन्टरनेशनल र मेरो एकेडेमी तथा ज्ञानदीप र ब्राइट ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। जेठ २२ मा सिद्धिविनायक र ज्ञानदीप तथा मेरो एकेडेमी र शान्ति निकेतनबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ।
समूह चरणपछि जेठ २३ गते सेमिफाइनल खेलहरू सञ्चालन गरिनेछ। पहिलो सेमिफाइनल समूह ‘ए’ को विजेता र समूह ‘सी’ को विजेता बीच हुनेछ भने दोस्रो सेमिफाइनल समूह ‘बी’ को विजेता र समूह ‘डी’ को विजेता बीच हुनेछ। फाइनल खेल जेठ २४ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पहिलो खेल बिहान ७:३० बजे र दोस्रो खेल दिउँसो १:०० बजे सुरु हुनेछ।