काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आजदेखि आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिज खेल्दै छ ।यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै स्कटल्याण्डले पहिला ब्याटिंग गर्ने भएको छ ।
नेपाल र स्कटल्याण्डले अहिलेसम्म ८ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ । त्यस्तै एक खेलको कुनै नतिजा आएको छैन । स्कटल्याण्डसहित नेपाल र नेदरल्याण्डसले यो सिरिज खेल्दैछन् । नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग आजदेखि देखि १० सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।लिग-२ को अंक तालिकामा नेपाल पुछारमा रहेको छ ।
अहिलेसम्म १२ खेल खेलेको नेपालको ६ अंक मात्र रहेको छ । नेपालले अन्य सात देशले भन्दा कम खेल पनि खेलेको छ ।हाल अंक तालिकामा अमेरिका शिर्ष स्थानमा रहेको छ । अमेरिकाको २० खेलमा २८ अंक छ । त्यस्तै यो सिरिज खेल्न लागेको नेदरल्याण्डसको २० खेलमा २६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी स्कटल्याण्डको १६ खेलमा २० अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।
नेपालले यसअघि खेलेका १२ खेलमा केवल २ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ । त्यस्तै २ खेलको नतिजा आएको थिएन ।अंक तालिकामा पुछारमा रहेकोले नेपाल जित्नै पर्ने दबाबमा रहेको छ ।