काठमाडौँ,२१ जेठ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट फ्यानहरुलाई मैदानमा प्रवेश नगर्न आग्रह गरेको छ । क्यानले स्कटल्याण्डमा जारी आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ को स्कटल्याण्डविरुद्धको खेलपछि नेपाली क्रिकेट फ्यानहरु मैदानभित्र पसेर खुशियाली मनाएपछि यस्तो अनुरोध गरेको हो ।
क्यानले सबैको सुरक्षा र अन्तर्राष्ट्रिय नियम अनुसार सबै नेपाली क्रिकेट प्रेमीलाई खेल अघि र खेल पछि मैदानमा प्रवेश नगर्न अनुरोध गरेको छ । साथै क्यानले नेपाली क्रिकेट प्रेमीको खेल प्रतिको माया र लगावको स्तर अझ उच्च बनाउन समेत आग्रह गरेको छ ।
लिग-२ अन्तर्गत नेपालले आज नेदरल्याण्डसविरुद्ध खेल्दैछ । यो खेल नेपाली समय अनुसार ३: ४५ बजेदेखि शुरु हुदैछ ।