पर्सा,१८ साउन। पर्सामा आफ्नै श्रीमतीलाई हत्या गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ शंकरसरैया निवासी ३२ वर्षीय जितेन्द्र माझी मुसहर रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवंम् डिएसपी किशोर लम्सालले जानकारी दिएका छन् ।
पक्राउ परेका मुसहरले शनिबार घरायसी विवादका क्रममा मादक पदार्थ सेवन गरी २४ वर्षीया श्रीमती असपतलीया देवी मुसहरलाई हात मुक्का र लठ्ठीले घाँटीमा प्रहार गरी हत्या गरेका उनले बताए ।
घटनाबारे सूचना पाएलगत्तै अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट प्रहरी टोली खटाई घेराबन्दी गरी उनलाई नियन्त्रणमा लिइएको छ। मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको डिएसपी लम्सालले बताए ।
पक्राउ परेका माझी विरुद्ध ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान ) मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले जानकारी दिए ।