कलैया, ५ कात्तिक। यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । हिन्दु समाजमा गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो ।
गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ‘गौमाता’ भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध,गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको मान्यता पनि छ ।
त्यसैले कुनै धार्मिक कार्य गर्दा गाईको गहुँतले घर चोख्याउने तथा गोबरले आँगन पीढी वा दहिलो लिपपोत गर्ने गरिन्छ । आज गाईको पूजा गरी मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।