कलैया, २५ कात्तिक। नेपाल प्रहरीको प्रहरी जवान र कार्यालय सहयोगीको लागि पर्सा जिल्लामा मात्रै झण्डै सातसय जनाले आवेदन फारम दर्ता गराएका छन्।
नेपाल प्रहरीले प्रकाशित गरेको खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षाका लागि प्रहरी जवान र कार्यालय सहयोगी पदमा फाराम भर्न ३ दिन बाँकी रहँदा अहिलेसम्म ६ सय ८८ जनाले फारम दर्ता गराएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय, पर्साबाट हालसम्मको प्रहरी जवान पदका लागि ६०० जना, प्रहरी जवान महिलाको लागि ६३ जना र कार्यालय सहयोगी पदका लागि २५ जना उम्मेदवारहरूले फाराम दर्ता गराइसकेका छन्।
फारम दर्ता गर्नको लागि अन्तिम समय कार्तिक २८ गतेसम्म रहेकोले फाराम संकलन कार्य हाल पनि जारी रहेको र आगामी दिनहरूमा यो संख्या अझ वृद्धि हुने अपेक्षा गरिएको प्रवक्ता बस्नेतले बताए।
नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी जवानको लागि १५ सय ५३ जना र कार्यालय सहयोगीको लागि ४१ जनाको माग गरेको छ भने त्यसको लागि असोज १९ गतेदेखि कार्तिक २८ गतेसम्म फारम दर्ता गराउन समय तोकेको थियो।




