कलैया, २० माघ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मौसम प्रतिकूल भए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराइने बताएकी छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ स्थित हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन सरकारले आवश्यक सबै सहयोग गर्ने बताएकी हुन ।
उनले भनिन्,“विशेषगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौं।” प्रधानमन्त्री कार्कीले कम मतदाता भएका स्थानमा सवारीसाधन प्रयोग गरी मतदाता ओसारेर भए पनि निर्वाचन सम्पन्न हुने बताएकी हुन ।
अत्यन्तै कठिन अवस्था सिर्जना भएमा दोस्रो चरणमा निर्वाचन गराउने विकल्पमा सरकार सोच्न सक्ने उनको भनाइ छ । हालसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयमा प्रवेश नै नभएकाले ढुक्क भएर आगामी फागुन २१ गते हुने निर्वाचनमा जुट्न प्रधानमन्त्री कार्कीले सबैलाई आग्रह गर्नुभएको छ ।
समयमै निर्वाचन सम्पन्न गरी नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हाल्दै देशलाई नयाँ दिशातर्फ अघि बढाउनेमा आफू विश्वस्त रहेको समेत उनले बताइन्।





