कलैया, २२ माघ । झापा क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने कमल गाउँपालिका–२ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा गएराति तोडफोड भएको छ ।
अज्ञात समूहले कार्यालयलाई लक्षित गरी ढुंगामुढा प्रहार गरेको हो । तोडफोडबाट कार्यालयको झ्यालका सिसाहरू फुटेका छन् । उक्त कार्यालय रास्वपाका वरिष्ठ नेता एवं झापा–५ का उमेदवार बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारप्रसार र भेटघाटका लागि हालै सञ्चालनमा ल्याइएको थियो ।
हाल झापा निर्वाचन क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र बालेन शाहबीच कडा प्रतिस्पर्धा हुने देखिएकाले यो क्षेत्र निकै संवेदनशील मानिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान हुन बाँकी छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।





