बारा, ०६ असार । बारामा २० वर्षअघि भएको एक व्यक्ति हत्याका फरार आरोपीलाई प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रसौनी गाउँपालिका–५ का ४८ वर्षीय श्यामबाबु प्रसाद चौरसियालाई बारा जिल्ला अदालतको आदेशमा थुनामा पठाइएको हो। वि.सं. २०६२ साल असोज ३ गते साविक मोतिसर गाविस–९ (हाल कलैया उपमहानगरपालिका–१८) निवासी ४० वर्षीय सितलप्रसाद चौरसियाको जग्गा सम्बन्धी पुरानो रिसइबीका कारण हत्या भएको थियो।
नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जबाट ड्युटी सकेर घर फर्किने क्रममा दुधौरा खोलाको बगरमा सितलप्रसादको घाँटी रेटी हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न रही लामो समयदेखि फरार रहेका प्रतिवादी श्यामबाबुलाई प्रहरीले यही जेठ १३ गते पक्राउ गरेको थियो।
पक्राउपछि आवश्यक अनुसन्धान पूरा गरी असार ५ गते अदालतमा उपस्थित गराइएकोमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।



