साउन १८, वीरगन्ज। जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानअनुसार अत्यधिक वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने तथा होचा भूभाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि जिल्ला विपद् व्यवस्थापन समिति, पर्साले जिल्लावासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सूचना जारी गर्दै सम्भावित बाढी तथा डुबानबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सुरक्षित स्थान, सामुदायिक आश्रयस्थल तथा नजिकका खुला क्षेत्रको पहिचान गरी तयारी अवस्थामा रहन अनुरोध गरेको हो। साथै स्थानीय प्रशासन, बाढी पूर्वानुमान महाशाखा तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना नियमित रूपमा पछ्याउन र कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगर्न आग्रह गरिएको छ।
प्रशासनले नागरिकता, जग्गाधनी प्रमाणपत्र, शैक्षिक प्रमाणपत्रलगायतका महत्वपूर्ण कागजात तथा नगद सुरक्षित रूपमा वाटरप्रुफ झोलामा राख्न तथा बिस्कुट, चिउरा, औषधि, टर्चलाइट, पावर बैंक र स्वच्छ खानेपानीसहितको ‘इमर्जेन्सी गो–ब्याग’ तयारी अवस्थामा राख्न सुझाव दिएको छ।
यस्तै, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिको सुरक्षा र उद्धारलाई प्राथमिकता दिन, बाढी पसेको वा पानी जमेको घर तथा पसलमा विद्युत् सर्ट हुन सक्ने भएकाले मुख्य स्विच बन्द गर्न तथा नदी–खोलामा पानीको बहाव बढेका बेला माछा मार्न, पौडी खेल्न वा दाउरा संकलन गर्न नदी किनारमा नजान प्रशासनले अनुरोध गरेको छ।
मनसुनजन्य विपद्को अवस्थामा तत्काल उद्धार, खोज तथा राहतका लागि नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल (११४४) वा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) पर्सा (१२३४) मा सम्पर्क गर्न पनि प्रशासनले आग्रह गरेको छ।




