साउन १८, मोरङ। मोरङको विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम नजिक कोशी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
प्रहरीका अनुसार आइतबार राति करिब ८:५५ बजे बरगाछीबाट नेमुवा तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR 11 AW 1729 नम्बरको ३०० सिसी बुलेट मोटरसाइकलले पैदल हिँडिरहेका भारतको कोलकाता घर भई हाल विराटनगर–४ कदमगाछीमा भरत चौधरीको घरमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय नेपाल सरकार नामका व्यक्तिलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि नोबेल शिक्षण अस्पताल, विराटनगर लगिएको थियो। उपचारकै क्रममा राति ९:१९ बजे चिकित्सकले सरकारलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।



