बारा, २८ साउन । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा राखिएका ५७ वर्षीय हिरालाल पासवान मृत अवस्थामा फेला परेका छन्।
बाराको सुवर्ण गाउँपालिका–२ निवासी यसअघि कीर्तिपुरस्थित राधा स्वामी होल्डिङ सेन्टरमा रहँदै आएका पासवानलाई उक्त स्थान डुबानमा परेकाले अन्य व्यक्तिहरूसँगै बोडेस्थित कृषि तालिम केन्द्रमा स्थानान्तरण गरिएको थियो।
प्रहरीका अनुसार, पासवान तालिम केन्द्रको तीनतले भवनको दोस्रो तलामा रहेको कोठा नम्बर २०७ भित्र मृत फेला परेका हुन्। ढोका भित्रबाटै बन्द (चुकुल लगाइएको) रहेको अवस्थामा फेला परेपछि प्रहरीले ढोका खोलेर हेर्दा घटना सार्वजनिक भएको हो।
घटनास्थलमा पुगेको प्रहरी टोलीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ भने शवलाई पोस्टमाार्टमका लागि पठाइएको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।




