बारा, ११ भदौ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा विध्वंसकारी बाढीका कारण पुगेको ठूलो जनधनको क्षतिप्रति शिवशक्ति ग्रुपले गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यका लागि ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासी लगायतका क्षेत्रमा पुगेको अपूरणीय भौतिक तथा मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै ग्रुपका प्रतिनिधिहरू (राजकुमार अग्रवाल, सन्दीप कुमार अग्रवाल र राहुल कुमार अग्रवालसहित कम्पनी परिवार) ले उक्त सहयोग रकम अर्थमन्त्रीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन्।
यसका साथै, रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि. बाराको तर्फबाट पनि छुट्टै १० लाख रुपैयाँ सहयोग गरिएको छ।
शिवशक्ति ग्रुपले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण निजी क्षेत्र तथा आम नागरिकहरूलाई आफ्नो क्षमता अनुसार राहत तथा उद्धार अभियानमा सहयोग गर्न हार्दिक अपिल गरेको छ।



