बारा, ०१ कार्तिक। विद्युत् आपूर्तिमा समस्या आउँदा प्रायः सुनिने ‘सिस्टम फेल’ शब्दले स्थानीय क्षेत्रमा मात्रै विद्युत् अवरुद्ध भएको भन्ने बुझाउँदैन।
नेपाल विद्युत् प्राधिकरणको कलैया वितरण केन्द्रले सार्वजनिक गरेको जानकारीअनुसार, १३२ केभीको इन्टिग्रेटेड नेपाल पावर सिस्टम (INPS) अन्तर्गतको पूर्व–पश्चिम प्रसारण लाइनमा विद्युत् उपलब्ध नभए कलैया क्षेत्रको विद्युत् आपूर्ति पनि प्रभावित हुन सक्छ।
विद्युत् उत्पादन केन्द्रबाट उत्पादित ऊर्जा उच्च भोल्टेज प्रसारण लाइन हुँदै ग्रिड सबस्टेसनसम्म पुग्छ। त्यसपछि पावर ट्रान्सफर्मरमार्फत भोल्टेज घटाएर वितरण लाइनबाट घर, उद्योग तथा अन्य उपभोक्तासम्म विद्युत् पुर्याइन्छ।
विद्युत् आपूर्तिको प्रक्रिया मुख्यतः चार चरणमा पूरा हुन्छ।
पहिलो चरण : जलविद्युत्, तापीय वा अन्य स्रोतबाट विद्युत् उत्पादन गरिन्छ।
दोस्रो चरण : उत्पादित विद्युत् उच्च भोल्टेजमा १३२ केभी प्रसारण लाइनमार्फत पूर्व–पश्चिम क्षेत्रमा प्रवाह गरिन्छ।
तेस्रो चरण : प्रसारण लाइनबाट आएको विद्युत् ग्रिड सबस्टेसनमा पुग्छ। त्यहाँ रहेका पावर ट्रान्सफर्मरमार्फत भोल्टेज घटाएर वितरण प्रणालीमा पठाइन्छ। वीरगञ्ज क्षेत्रको आपूर्तिमा परवानीपुर ग्रिड सबस्टेसनको महत्त्वपूर्ण भूमिका रहेको छ।
चौथो चरण : सबस्टेसनबाट ३३ केभी वितरण लाइन हुँदै विभिन्न सबस्टेसन र वितरण संरचनामार्फत विद्युत् उपभोक्तासम्म पुर्याइन्छ।
‘System Fail’ हुँदा के हुन्छ?
१३२ केभी प्रसारण प्रणालीमा समस्या आएर विद्युत् आपूर्ति अवरुद्ध भए त्यससँग जोडिएका ग्रिड सबस्टेसनमा विद्युत् उपलब्ध नहुन सक्छ। त्यस्तो अवस्थामा सबस्टेसनबाट वितरण लाइनमा विद्युत् प्रवाह हुन नसक्दा सम्बन्धित क्षेत्रमा बत्ती जाने अवस्था आउन सक्छ।
त्यसैले विद्युत् अवरुद्ध हुनुको कारण स्थानीय वितरण लाइनमा आएको समस्या मात्रै नहुन सक्छ। प्रसारण लाइन, ग्रिड सबस्टेसन, पावर ट्रान्सफर्मर वा वितरण प्रणालीमध्ये कुनै तहमा समस्या आउँदा पनि आपूर्ति प्रभावित हुन सक्छ।
विद्युत् कहिले आउँछ?
प्रसारण प्रणाली वा सबस्टेसनमा प्राविधिक समस्या आएको अवस्थामा मर्मत, परीक्षण र प्रणाली पुनः सञ्चालन गर्न समय लाग्न सक्छ। विद्युत् आपूर्ति पुनःस्थापना हुने समय भने समस्या कहाँ र कस्तो प्रकृतिको छ भन्नेमा निर्भर गर्छ।
प्राधिकरणको कलैया वितरण केन्द्रले यस्तो अवस्थामा उपभोक्तालाई धैर्य राख्न र सहयोग गर्न आग्रह गरेको छ।





