बारा, ०२ कात्तिक। बाराको परवानीपुर गाउँपालिकामा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा परवानीपुर गाउँपालिका–५ नौतन टोल निवासी मनोज साहकी करिब १० वर्षीया छोरी सन्झना कुमारी रहेकी छन्।
प्रहरीका अनुसार, बालिका आइतबार राति आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा नाम नखुलेको सर्पले टोकेको थियो। सर्पले टोकेपछि बिरामी भएकी उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो।
अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा सोमबार राति १२ बजेर २९ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए।
बालिकाको मृत्यु भएको जानकारी अस्पतालका प्रहरी कर्मचारीमार्फत इलाका प्रहरी कार्यालय प्रसौनीमा प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक रामबालक साहको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।
बालिकाको शव नारायणी अस्पतालमै रहेको जनाइएको छ।





