सिमरा, ०३ कार्तिक। सिमरामा बौलाहा कुकुरको आक्रमणबाट १२ जना घाइते भएपछि स्थानीयवासी त्रसित बनेका बेला जीतपुरसिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ आफैँ जोखिम मोलेर कुकुर नियन्त्रणमा लिन सफल भएका छन्।
कुकुरको आक्रमणबाट स्थानीयवासी घाइते भइरहँदा र सर्वसाधारणमा त्रास फैलिएका बेला वडाध्यक्ष श्रेष्ठले जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै आफैँ मैदानमा उत्रिएर कुकुर नियन्त्रणमा लिएका हुन्। उनको यो सक्रियताले संकटका बेला जनप्रतिनिधिले निर्वाह गर्नुपर्ने जिम्मेवारी र जनताप्रतिको उत्तरदायित्वलाई उजागर गरेको छ।
जनताको समस्या र पीडालाई आफ्नै समस्या ठानेर जोखिमका बीच अघि सरेका वडाध्यक्ष श्रेष्ठको स्थानीयस्तरमा प्रशंसा भइरहेको छ। जनप्रतिनिधि केवल कार्यालयमा बसेर निर्देशन दिने व्यक्ति मात्र नभई आवश्यक पर्दा जनताको साथमा उभिने जिम्मेवार अभिभावक पनि हुन् भन्ने सन्देश उनको कदमले दिएको स्थानीयवासीको भनाइ छ।
एक स्थानीयले वडाध्यक्ष श्रेष्ठको साहस र सक्रियताको प्रशंसा गर्दै संकटका बेला जनताको सुरक्षाका लागि आफैँ अगाडि सर्नु प्रशंसनीय कार्य भएको बताएका छन्।
जनताको ज्यान रक्षाका लागि जोखिम मोलेर देखाएको उनको सक्रियतालाई स्थानीयले जनउत्तरदायी नेतृत्वको उदाहरणका रूपमा लिएका छन्।
यद्यपि, कुकुरको आक्रमणबाट घाइते भएकाहरूको उपचार, कुकुरबाट थप जोखिम हुन नदिन आवश्यक सावधानी तथा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायको प्रभावकारी पहल पनि उत्तिकै आवश्यक देखिएको छ।





