Monday, October 26, 2026

प्रादेशिक अस्पताल कलैयामा रेबिजविरुद्धको खोप अभाव, बिरामी निजी मेडिकल धाउन बाध्य

Advertisement
Advertisement

बारा, ०९ कात्तिक । बाराको कलैयास्थित प्रादेशिक अस्पतालमा रेबिज रोगविरुद्धको खोप (एआरभी) अभाव हुँदा नागरिकहरु मारमा परेका छन्।

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको खोप विगत १० दिनदेखि अस्पतालमा उपलब्ध नहुँदा कुकुर तथा बिरालोको टोकाइबाट पीडित बिरामीहरू निजी मेडिकलबाट महँगो मूल्यमा खोप खरिद गर्न बाध्य भएका हुन्।

अस्पतालमा खोपको अभाव भएपछि विशेष गरी गरिब तथा विपन्न परिवारका नागरिक बढी प्रभावित भएका छन्। सरकारी अस्पतालमा निःशुल्क खोप पाइने आशामा आउने सेवाग्राहीहरू रित्तो हात फर्किनुपर्ने वा निजी क्लिनिक तथा मेडिकलमा गएर चर्को मूल्य तिर्नुपर्ने बाध्यतामा परेका छन्।

एक पीडित सेवाग्राहीले कुकुरले टोकेपछि उपचारका लागि अस्पताल पुगे पनि बाहिरबाटै खोप खरिद गरेर ल्याउन भनिएको गुनासो गरे। उनका अनुसार निजी मेडिकलमा एउटा खोपको रु. ५६० देखि रु. ६०० सम्म असुल भइरहेको छ। “टाढाबाट दुःख गरेर सरकारी अस्पताल आइपुग्दा पनि सुविधा नपाउँदा हामीजस्ता विपन्न वर्ग झनै समस्यामा परेका छौँ,” उनले भने।

अस्पतालको एआरभी शाखाका अहेव रवीन्द्रकुमार यादवका अनुसार कुकुर तथा बिरालोको टोकाइपछि उपचारका लागि दैनिक ४० देखि६० जनासम्म सेवाग्राही अस्पताल आउने गरेका छन्।

यता, अस्पतालका सूचना अधिकारी केविन्द यादवले विजया दशमीअघि देखि नै अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको स्वीकार गरे। प्रदेश आपूर्ति शाखाले आउँदो कात्तिक १७ गतेसम्म खोप उपलब्ध गराउन नसकिने जानकारी गराएको उनले बताए।

“अस्पतालमा बिरामीको चाप र खोपको खपत बढी भएकाले थप खोपको माग गर्दै यसअघिको खपत विवरणसहितको प्रतिवेदन सम्बन्धित निकायमा पठाइसकिएको छ,” सूचना अधिकारी यादवले भने।

कलैयास्थित प्रादेशिक अस्पतालमा बाराका साथै छिमेकी जिल्ला रौतहटबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेकाले खोपको माग उच्च हुने गरेको छ। यसैबीच, अस्पताल बाहिरका निजी मेडिकलहरूले खोपको मनपरी र चर्को मूल्य लिइरहेको जनगुनासो समेत व्यापक रूपमा आउन थालेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर