कलैया, ३ असोज । बारामा ४ जना मान्छे खाएको नरभक्षी बाघ नियन्त्रणमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई सामुदायिक बनको आधाभारबाट बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिएका छन ।
राष्ट्रिय प्रकृति संरक्षण कोषबाट खटिएका विज्ञ टिमको सहयोगमा सेना र प्रहरीले ६ वटा हात्तीको सहयोगमा बाघलाई नियन्त्रणमा लिएका हुन । यस अघि उक्त बाघले जीतपुरसिमरा उपमहानगरपालिका –२१ र २२ मा ३ महिनाको अवधिमा ५ जनालाई आक्रमण गरेको थियो । जस मध्ये ४ जनाको मृत्यु भएको थियो भने एकजना सैनिक हवलदार घाइते भएका थिए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूले चुरियामाई सामुदायिक वनको ३ ठाउँमा राँगालाई बाँधेर क्यामरा जडान गरेका थिए । क्यामराले राँगोलाई आक्रमण गरेको फोटो कैद गरेपछि डार्ट गरेर बाघ नियन्त्रणमा लीएको हो ।