बारा १३ कार्तिक । सीमित स्रोतसाधन र जनशक्तिका बीच पनि बाराको जीतपुरसिमरा नगर अस्पतालले हाडजोर्नीसम्बन्धी जटिल शल्यक्रिया सुलभ शुल्कमा उपलब्ध गराउन थालेको छ। अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. नवनीत रौनियारको नेतृत्वमा जटिल शल्यक्रिया हुन थालेपछि स्थानीय बिरामीलाई महँगो उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता कम हुँदै गएको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाको आन्तरिक राजस्वबाट सञ्चालित सिमरास्थित नगर अस्पतालमा हड्डी भाँचिएका, जोर्नीमा गम्भीर चोट लागेका तथा कृत्रिम जोर्नी प्रत्यारोपण गर्नुपर्ने बिरामीको उपचार नियमित रूपमा भइरहेको छ। अस्पताल प्रशासनका अनुसार पछिल्लो चार महिनामा मात्रै यस्ता समस्याबाट पीडित सयभन्दा बढी बिरामीको सफल शल्यक्रिया गरिएको छ।
वीर अस्पताल राष्ट्रिय ट्रमा सेन्टरबाट आएका विशेषज्ञ चिकित्सक डा. रौनियारले सीमित उपकरण, जनशक्ति र पूर्वाधारका बाबजुद उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै जटिल शल्यक्रियालाई निरन्तरता दिँदै आएका छन्। सुरुवाती दिनमा आवश्यक जनशक्ति र पूर्वाधारको अभावका कारण जोखिम हुन सक्ने भन्दै सहकर्मी चिकित्सकहरूले चिन्ता व्यक्त गरे पनि उनले सेवा प्रवाहलाई निरन्तरता दिएका छन्।
नगर अस्पतालमा उपचार सुरु भएपछि बिरामीले ठूलो आर्थिक राहत पाउन थालेका छन्। निजी अस्पतालमा चारदेखि पाँच लाख रुपैयाँसम्म खर्च लाग्न सक्ने जटिल शल्यक्रिया नगर अस्पतालमा करिब ४० देखि ५० हजार रुपैयाँमै सम्भव भएको बताइएको छ। यसले विशेषगरी आर्थिक रूपमा कमजोर परिवारलाई राहत दिएको छ।
डा. रौनियारका अनुसार शल्यक्रियामा प्रयोग हुने स्टिल अर्थात् इम्प्लान्टका लागि २२ देखि २५ हजार रुपैयाँ खर्च लाग्ने गरेको छ। अस्पतालले बेड र औषधिमा समेत छुटको व्यवस्था गरेकाले बिरामीलाई उपचार खर्च कम गर्न सहयोग पुगेको छ।
नगर अस्पतालबाट उपचार गराएका जीतपुरसिमरा–२ का ७० वर्षीय हरिदेव राम सहनीले कम खर्चमै कृत्रिम जोर्नी प्रत्यारोपण गराउन पाउँदा खुसी व्यक्त गरे। आर्थिक अवस्था कमजोर भएका कारण महँगो उपचार गर्न कठिन हुने अवस्थामा आफ्नै नगरमा उपचार पाएको भन्दै उनले चिकित्सक, अस्पताल परिवार र स्थानीय सरकारप्रति आभार व्यक्त गरे।
त्यस्तै, जीतपुरसिमरा उपमहानगरपालिका–८ का १८ वर्षीय अनिल सहनीले दुवै हात भाँचिएपछि नगर अस्पतालमै उपचार सेवा पाएका छन्। गम्भीर चोट लागेपछि पनि स्थानीय स्तरमै सुलभ र गुणस्तरीय उपचार पाउँदा आफू सन्तुष्ट रहेको उनले बताए।
हाडजोर्नीसम्बन्धी शल्यक्रियाका अतिरिक्त नगर अस्पतालले बालबालिकाको उपचार, मुटुरोगसम्बन्धी सेवा तथा अन्य विशेषज्ञ स्वास्थ्य सेवा पनि प्रदान गर्दै आएको छ। अस्पताल प्रशासनका अनुसार यहाँ दैनिक तीन सयदेखि चार सय जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन्।
स्थानीय जीवन खड्गाका अनुसार डा. रौनियारको प्रयासले आर्थिक रूपमा विपन्न नागरिकलाई महँगो उपचारको भारबाट जोगिन सहयोग पुगेको छ। नगर अस्पतालमा जटिल शल्यक्रियासहित विभिन्न विशेषज्ञ सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीले आफ्नै क्षेत्रमा उपचार पाउने अवसर पाएका छन्।
सीमित पूर्वाधारका बीच सञ्चालन भइरहेको नगर अस्पतालले सुलभ उपचारलाई प्राथमिकता दिँदै सेवा विस्तार गरेपछि जीतपुरसिमरा र आसपासका क्षेत्रका नागरिकलाई लाभ पुगेको छ। स्थानीय सरकारको आन्तरिक राजस्वबाट सञ्चालित अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच बढाउने प्रयासलाई निरन्तरता दिएको छ।





