कलैया, २४ असोज। बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले प्रतिनिधि सभा सदस्यको हैसियतमा लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) संघीय संसद सचिवालयलाई फिर्ता गरेका छन् ।
गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो । राहदानी नियमावली २०७७ को नियम १८ अनुसार पदमा नरहेको एक महिनाभित्र रातो पासपोर्ट फिर्ता गर्नुपर्ने हुन्छ । सांसद श्रेष्ठले असोज २३ गते सचिवालयअन्तर्गत गरेको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखामा राहदानी फिर्ता गरेका हुन् । जसलाई सचिवालयले समेत प्रमाणित गरिसकेको छ।
उनले सांसद नभएतापनि मधेश र मधेशमा बसोबास गर्ने नागरिकको हक हित र अधिकार संरक्षणका लागि दिलो ज्यान लगाएर लाग्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन। सामाजिक संजाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन।
“म अहिले सांसद नभएतापनि मधेश र मधेशमा बसोबास गर्ने नागरिकको हक हित र अधिकार संरक्षणका लागि दिलो ज्यान लगाएर लाग्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु । जेन जी आन्दोलनका कारण उत्पन्न राजनीतिक परिस्थितिप्रति मेरो पूर्ण समर्थन छ । अब देशमा शान्ति, सुव्यवस्था र अमनचयनको वातावरण सिर्जना हुन जरुरी छ । त्यो भनेको नयाँ जनादेशबाट मात्र सम्भव छ । त्यसैले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन शान्त, भयरहित र तोकिएकै समयमा हुनुपर्छ भन्ने मेरो माग छ । ” उनले लेखेका छन्।






