कलैया, ०४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीका सभापति रवि लामिछाने तत्काल पार्टी जिम्मेवारीमा फर्किने बताएका छन ।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आज विज्ञप्ति जारी गर्दै कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी लामिछानेले तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने बताएका छन् । उनले पार्टी विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति सधैँ प्रतिबद्ध रहेको उल्लेख समेत गरेका छन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ,”विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको छ। सभापति लामिछानेमाथि लगाइएका झुटा मुद्दाहरू हाल यथावत् रहेको र यी मुद्दाहरू तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको स्पष्ट भइसकेकोले अहिलेको नागरिक सरकारले आवश्यक कदम चाली यो प्रतिशोधको श्रृङ्खलालाई पूर्णविराम लगाउने छ भन्ने विश्वास पार्टीले लिएको छ ।”
“कानुनी र प्रशासनिक प्रक्रिया पूरा भएपछि सभापति लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किनुहुनेछ ।” विज्ञप्तिमा उल्लेख छ





