Friday, June 5, 2026

बारामा पहिलो दिन १३१ जनाले दिए निर्वाचन प्रहरी (म्यादी)को आवेदन

spot_img

कलैया, २५ पुस। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी)मा बारामा पहिलो दिन १३१ जनाले आवेदन दिएका छन्।

आज पुस २५ गते देखि म्यादी प्रहरीको आवेदन खुला भएको हो। पहिलो दिन ६९ पुरुष र ६२ महिला गरी जम्मा १३१ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिएका छन्। म्यादीमा भर्ना हुन आवेदन दिन आजदेखि जिल्ला प्रहरी कार्यालयमा ठूलो संख्यामा युवाहरूको भिड लागेको छ। प्रतिनिधिसभा निर्वाचनका लागि बारामा चार हजार ३४ जना निर्वाचन प्रहरी भर्ना गरिने प्रशासनले जनाएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ अनुसार भर्ना प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पुस २५ गतेदेखि आगामी माघ १ गतेसम्म १८ वर्ष उमेर पूरा भई ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले जिल्ला प्रहरी कार्यालय बारामा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

बारामा चार वटा निर्वाचन क्षेत्र रहेका छन् भने जिल्लामा ४ लाख ६५ हजार ७ सय ८४ जना मतदाता रहेका छन्। त्यसैगरी जिल्लाभर ३०५ मतदानस्थल र ५८७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख निर्वाचन अधिकृत नवीन चौधरीले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर