कलैया, १८ फागुन। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी भारत सरकारले नेपाललाई सवारीसाधन सहयोग उपलब्ध गराएको छ। वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा आइतबार आयोजित एक कार्यक्रमका बीच ३० थान ‘वान टन’ क्षमताका सवारी तथा अन्य निर्वाचन सामग्री हस्तान्तरण गरिएको हो।
भारतीय महावाणिज्यदूत देवी सहाय मिनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई उक्त सवारीसाधनहरू औपचारिक रूपमा हस्तान्तरण गरेका हुन। नेपाल सरकारको आग्रह बमोजिम निर्वाचनको तयारी र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन भारतले यो प्राविधिक तथा भौतिक सहयोग उपलब्ध गराएको दूतावासले जनाएको छ।
सवारीसाधन बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी दाहालले भारत सरकारको सहयोगप्रति आभार प्रकट गरेका छन्। निर्वाचनको मुखमा प्राप्त भएका यी सवारीसाधनले सुरक्षाकर्मी परिचालन र निर्वाचन सामग्री ढुवानीमा ठूलो मद्दत पुग्ने उनले बताए ।
नेपालमा हुने हरेक निर्वाचनमा भारतले सवारीसाधन र अन्य प्राविधिक सामग्री सहयोग गर्दै आएको छ। यसअघि पनि भारत सरकारले निर्वाचन सहयोगअन्तर्गत ५८० थान भन्दा बढी साना-ठूला सवारीसाधन नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ।
यी सवारीसाधनहरू निर्वाचन लगत्तै सुरक्षा निकाय तथा प्रशासनिक कार्यमा प्रयोग गरिने प्रशासनले जनाएको छ।





