कलैया, १९ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब दुई दिन मात्र बाँकी रहँदा बारा जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतदान स्थलको निर्माणमा कर्मचारीहरु जुटेका छन् ।
निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि बाराका सबै मतदान स्थलहरूमा खटिएका मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीहरुले व्यवस्थापनको कामलाई अन्तिम रूप दिन सुरु गरेका छन्। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्रहरूमा मतदान अधिकृतसहितका टोलीहरू आवश्यक निर्वाचन सामग्री र मतपत्र लिएर पुगिसकेका छन्।
मतदान स्थलमा पुगेका कर्मचारीहरूले आजैदेखि केन्द्रको घेराबेरा गर्ने, मतदाता लाइन बस्ने मार्ग तय गर्ने र गोप्य मतदान कक्ष (बुथ) निर्माण गर्ने कार्य गरिरहेका छन्।
बाराका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका अति संवेदनशील र संवेदनशील मानिएका मतदान स्थलहरूमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ। कर्मचारीहरूले भोलि २० गतेसम्म सबै प्राविधिक र भौतिक तयारी पुरा गर्ने गरी जुटेका छन् । २१ गते बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म देशभर मतदान सुरु हुने छ ।
निर्वाचनको मिति नजिकिएसँगै बारामा सुरक्षा निकायले जिल्लाभर गस्ती बढाएर भयरहित वातावरण सिर्जना गर्ने प्रयास गरिरहेका छन्।





