कलैया, २५ फागुन । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। निर्वाचन सम्पन्न भएको छोटो समयमै कानुनी प्रावधान अनुसार शाहले आज जिल्ला निर्वाचन कार्यालयमा खर्चको पूर्ण विवरण पेश गरेका हुन्।
उनले बुझाएको विवरण अनुसार यस पटकको निर्वाचनमा उनको कुल खर्च १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ भएको उल्लेख गरिएको छ।
खर्चको शीर्षकगत विवरण अनुसार शाहले सबैभन्दा ठूलो हिस्सा प्रचार कार्यक्रमका लागि विनियोजन गरेको देखिएको छ। उनले वडा स्तरीय प्रचार कार्यक्रमका लागि मात्र ५ लाख ८० हजार रुपैयाँ खर्च भएको जनाएका छन्।
त्यस्तै, चुनावी अभियानका क्रममा प्रयोग भएका सवारी साधनको भाडा बापत २ लाख ९३ हजार ८ सय रुपैयाँ र हवाई यात्राका लागि ३५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
उम्मेदवारी दर्ताका क्रममा गरिएको मनोनयन शुल्क १० हजार रुपैयाँ नै उनको चुनावी अभियानको सबैभन्दा न्यून खर्चको शीर्षक रहेको छ।
विवरणमा स्थानीय स्तरमा गरिएका अन्य साना खर्चहरूलाई पनि पारदर्शी रूपमा प्रस्तुत गरिएको छ। मतदाता प्रशिक्षण कार्यक्रमका क्रममा खाजा खर्च बापत २८ हजार ९ सय ७० रुपैयाँ खर्च भएको उल्लेख छ ।





