कलैया, २८ फागुन । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको अन्तिम सिट सङ्ख्याको टुङ्गो लगाउँदै दलहरूलाई पत्राचार गरेको छ।
आयोगको निर्णयअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ५७ सिट प्राप्त गरेको छ। त्यसैगरी, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६ र नेपाली कम्युनिस्ट पार्टीले ९ सिट प्राप्त गरेका छन्। नयाँ शक्ति सन्तुलनमा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान ४/४ सिट प्राप्त गरेका छन्।
निर्वाचन आयोगले सिट पाएका सबै दलहरूलाई आगामी तीन दिनभित्र समावेशी सिद्धान्त र क्लस्टरअनुसार आफ्ना उम्मेदवारहरूको नामावली छनोट गरी पेस गर्न निर्देशन दिएको छ। दलहरूले बन्दसूचीमा रहेका नामहरूमध्येबाटै उम्मेदवार छनोट गर्नुपर्ने र त्यसो गर्दा महिला तथा विभिन्न अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।






