कलैया, ०८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक र निष्पक्ष निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै देशले शान्तिपूर्ण निकास पाएको बताए। उनले भने, “समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु ।”
प्रधानमन्त्री कार्कीले रास्वपाको सफलताका लागि बधाई दिँदै युवा नेतृत्वले देशवासीको अपेक्षा पूरा गर्नुपर्ने बताइन्। उनले भनिन्, “अहिले देश रोएको छ, तपाईँहरूले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्छ। इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ।विरोध र आलोचना गर्नेहरुलाई कामबाटै जवाफ दिन सक्नुपर्दोरहेछ ।”
भेटमा लामिछानेले वर्तमान सरकारका निर्णयहरूमा आफ्नो पार्टीको कुनै आपत्ति नरहेको स्पष्ट पार्दै पूर्ण समर्थन रहने बताए। उनले भने, “यो सरकारले गरेका निर्णय हामी शिरोपर गर्छौँ।” साथै, उनले पोर्चुगलमा रहेका नेपाली विद्यार्थीको समस्या, मध्यपूर्वमा नेपाली श्रमिकको सुरक्षा र पेट्रोलियम आपूर्तिका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।





