कलैया, ११ चैत । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित संसद् र वर्तमान सरकारले जनताका असीमित आकाङ्क्षा र भावनालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा विशेष जोड दिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा कार्यभार सम्हाल्दै उनले यस्तो बताएका हुन । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा जिम्मेवारी पाएका हुन् । उनले मुलुकको सर्वाङ्गीण हितका लागि सत्तापक्ष र प्रतिपक्ष दुवैलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने चुनौतीपूर्ण दायित्व सबैको साझा भएको बताए ।
उनले विशेषगरी देशमा व्याप्त गरिबी, रोग, भोक र कुशासनलाई साझा शत्रुको संज्ञा दिँदै केसीले यी समस्या समाधान गर्न संसद्ले प्रभावकारी र अभिभावकीय भूमिका खेल्नुपर्ने आवश्यकता रहेको समेत जोड दिएका छन्। विसं २०१५ पछिको उत्साहजनक जनादेशलाई रक्षा गर्नु नै लोकतन्त्रको वास्तविक सफलता हुने उल्लेख गर्दै उनले संसद् सञ्चालनका क्रममा आफू पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र तटस्थ रहने प्रतिबद्धता व्यक्त गरे ।
सभामुखको भूमिकामा रहँदा संविधान, संसद्को नियमावली र संसदीय मर्यादालाई शिरोधार्य गर्दै प्रत्येक सांसदको विशेषाधिकारको रक्षकका रूपमा आफूले कार्यसम्पादन गर्ने समेत उनले बताएका छन् ।





