कलैया, १५ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई म्याद थपको प्रक्रियाका लागि भर्चुअल माध्यमबाट उपस्थित गराइने भएको छ।
जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनका आधारमा पक्राउ परेका ओलीलाई म्याद थपका लागि भौतिक रूपमा सरकारी वकिलको कार्यालयमा पेश गर्नुपर्ने प्रावधान भए तापनि उनको स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले प्रविधिको प्रयोग गर्न लागिएको हो।
दुई पटकसम्म मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई चिकित्सकको सल्लाह बमोजिम त्रिवि शिक्षण अस्पताल (टिचिङ) भर्ना गरिएको छ।
अस्पतालमै उपचाररत रहेकाले उनलाई स्वास्थ्य संवेदनशीलताका कारण कार्यालयमा उपस्थित गराउन नसकिएपछि भिडिओ कन्फ्रेन्स मार्फत म्याद थपको प्रक्रिया अगाडि बढाउन लागिएको उनका कानून व्यवसायी वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिएका छन्।





