कलैया, २२ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बढ्दो संकटलाई मध्यनजर गर्दै उपभोक्ताहरूलाई इन्धन खपतमा सजग रहन विशेष आग्रह गरेको छ। मन्त्रिपरिषद्ले सोमबारदेखि सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै निगमले यस्तो अपिल गरेको हो।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सार्वजनिक बिदाको उपयोग घुमघामका लागि नभई इन्धन बचाउनका लागि गरिनुपर्छ। उनले भने, “बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन,जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान चाहिन्छ”
हाल निगमलाई प्रतिलिटर पेट्रोलमा १२० रुपैयाँ घाटा भइरहेको र दैनिक देशभर २५ लाख लिटर पेट्रोल तथा ५० लाख लिटर डिजेल खपत हुने गरेको तथ्यांक छ।
सरकारले इन्धन संकट टार्न डिजेल र पेट्रोल गाडीलाई विद्युतीय सवारी साधनमा परिवर्तन गर्न कानुनी सुधार गर्ने निर्णय समेत गरेको छ। एसइई परीक्षा सकिएपछि र विद्यालयहरू पूर्ण रूपमा बन्द भएपछि इन्धन खपतमा कति कमी आयो भन्ने यकिन तथ्यांक आउने निगमले जनाएको छ।





