बारा, २७ चैत । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामालाई पराजित गर्दै उनी उक्त पदमा चयन भएकी हुन्। सभामुख डीपी अर्यालले निर्वाचनको परिणाम घोषणा गर्दै रुबीकुमारी निर्वाचित भएको जानकारी सभालाई गराएका थिए।
नवनिर्वाचित उपसभामुख रुबीकुमारीलाई उनको आफ्नै दल श्रम संस्कृतिका साथै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपाको पूर्ण समर्थन रहेको थियो। अर्कोतर्फ, राप्रपाले भने यो निर्वाचनमा एकल प्रतिस्पर्धा गरेको थियो भने नेकपा एमाले निर्वाचन प्रक्रियामा सहभागी भएन।
आजको बैठकमा उपस्थित कुल २५६ सांसदमध्ये रुबीकुमारीको पक्षमा २२९ मत खसेको थियो। उनको विपक्षमा ५ मत पर्दा २२ जना सांसद तटस्थ बसेका थिए। पराजित उम्मेदवार सरस्वती लामाको पक्षमा जम्मा ५ मत मात्र खस्यो भने उनको विपक्षमा मतदान नगरी ३७ जना सांसद तटस्थ बसेका थिए। यो विजयसँगै ठाकुरले संघीय संसद्को तल्लो सदनको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने निश्चित भएको छ।





