बारा, ०३ वैशाख । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिका सभापति पदका लागि आफ्ना उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ।
बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले विभिन्न १० वटा विषयगत समिति र दुईवटा संयुक्त समितिहरूका लागि उम्मेदवारहरू छनोट गरेको हो। बैठकको निर्णयअनुसार बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद रहवर अन्सारीलाई उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति पदको उम्मेदवार बनाइएको छ। यस्तै, कानून, न्याय तथा मानवअधिकार समितिको नेतृत्वका लागि समीक्षा बाँस्कोटालाई अघि सारिएको छ।
पार्टीले पूर्वाधार विकास समितिमा आशिष गजुरेल र राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाललाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजस्वी शेरचन, र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदासलाई जिम्मेवारी दिने तयारी गरिएको छ। त्यसैगरी, अर्थ समितिको सभापतिमा कृष्णहरी बुढाथोकी र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
संयुक्त समितिहरूको हकमा, रास्वपाले संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठलाई र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा गणेश कार्कीलाई सभापतिको उम्मेदवार बनाउने भएको छ। सत्ता समीकरण र संसदीय शक्ति सन्तुलनका आधारमा रास्वपाले यी महत्वपूर्ण समितिहरूमा आफ्ना सांसदहरूलाई पठाउने तयारी थालेको हो।





