बारा, ०४ जेठ । प्रतिनिधिसभाको सोमबारको बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीले प्लेकार्ड र पर्चा देखाएर संसद् भवनभित्रै विरोध गरेको छ। सोमबारको बैठकको कारबाही प्रारम्भ भएलगत्तै श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङसहितका सांसदहरू संसद्को वेलमा पुगेर विरोधमा उत्रिएका हुन्।
उनीहरूले छातीमा प्लेकार्ड टाँसेर र हातमा पर्चा बोकी सभामुख डोलप्रसाद (डीपी) अर्यालतर्फ फर्किएर प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको विरोध गरेका थिए। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री शाह प्रश्नहरूबाट भाग्न नपाउने मागसहित सदनमा दबाब सिर्जना गरेको हो। यसअघि पनि विपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ स्वयं प्रधानमन्त्री शाहले नै दिनुपर्ने अडान राख्दै आएका थिए।
तर, संसद्मा प्रधानमन्त्री अनुपस्थित भएपछि उनको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए। प्रधानमन्त्रीको सोही अनुपस्थितिलाई लिएर विपक्षी दलहरू असन्तुष्ट बनेका हुन्। संसदीय व्यवस्था अनुसार संसद्मा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने स्थापित नियम भए तापनि जेठ र असार महिनाको संसदीय क्यालेन्डरमा उक्त कार्यक्रम समावेश नगरिएको भन्दै श्रम संस्कृति पार्टी थप आक्रोशित बनेको छ। संसद्को क्यालेन्डरमै प्रधानमन्त्रीसँगको प्रश्नोत्तर गायब पारिएको र प्रधानमन्त्री सदनमा जवाफदेही नभएको भन्दै उनीहरूले आकस्मिक रूपमा संसद्मै प्लेकार्ड देखाएर विरोध जनाएका हुन्।
श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरी पर्चा देखाएपछि सभामुख डोलप्रसाद अर्यालले संसद्को गरिमा र मर्यादा कायम राख्न आग्रह गर्दै प्लेकार्ड र पर्चासहितको विरोधको शैली नदेखाउन आदेश जारी गरेका छन्।
सभामुख अर्यालले सांसदहरूलाई सचेत गराउँदै भने, “मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गरिदिन म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रूपमा पनि लिइदिन म जानकारी गराउँछु।”



