बारा, ११ जेठ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आगामी जेठ १५ गते हुने गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् ।
विगतमा प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहे पनि यसपटक उनले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन आग्रह गर्दै पत्राचार गरेका छन् ।
यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदा पनि प्रधानमन्त्री बालेनले संसद्मा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुखसमक्ष पेस गरेका थिए । साथै, नीति तथा कार्यक्रममाथिको छलफलमा विपक्षीहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएपछि विपक्षी दलहरूले संसद् अवरुद्ध तथा बहिष्कार गरेका थिए । प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनुपरेको थियो ।
हाल हरेक महिना संसद्मा हुनुपर्ने प्रश्नोत्तरमा प्रधानमन्त्री सहभागी नभएको भन्दै विपक्षीहरूले संसद् बैठकमा अवरोध जारी राखेका छन् । यस बारे सभामुख डोलप्रसाद (डीपी) अर्यालले मिति माग्दा प्रधानमन्त्रीले उपयुक्त समयमा उपस्थित भएर जवाफ दिने सन्देश पठाएका छन् ।



