बारा, १२ जेठ । बाराको आदर्शकोतवाल गाउँपालिका-६ मा सञ्चालित मदिरा भट्टीलाई प्रहरीले नष्ट गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी सहायक निरीक्षक अजय बहादुर क्षेत्रीको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले आज दिउँसो उक्त क्षेत्रमा छापा मारेको थियो।
आदर्शकोतवाल गाउँपालिका वडा नं. ०६ पटेर्वा बस्ने संजित कलवारले आफ्नो निजी खेतमा गोप्य रूपमा २ कोठे टहरा बनाई अवैध मदिरा उद्योग सञ्चालन गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।
प्रहरी टोलीले घटनास्थलबाट मदिरा तयार गर्नका लागि प्लास्टिकका ड्रमहरूमा भण्डारण गरी राखिएको करिब एक हजार लिटर कच्चा पदार्थ बरामद गरी पूर्ण रूपमा नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार नष्ट गरिएको उक्त कच्चा पदार्थको बजार मूल्य करिब ६० हजर रुपैयाँ बराबर रहेको छ।




