बारा, १४ जेठ। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम जेठ १५ गते शुक्रबार सार्वजनिक गर्ने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
यस पटकको नीति तथा कार्यक्रममा विगतका वर्षहरूभन्दा फरक शैली अपनाउँदै स-साना र टुक्रे योजनाहरूलाई पूर्ण रूपमा निरुत्साहित गरिएको छ। नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहका अनुसार यस वर्ष आवश्यकता र क्षमताका आधारमा कार्यक्रमहरू तयार पारिएका छन्।
कम्तीमा एक करोड रुपैयाँभन्दा माथिका बहुवर्षीय, प्रदेश गौरवका र मझौला योजनाहरूलाई मात्र प्राथमिकता दिइएको छ।



