Sunday, June 7, 2026

नेपाल–भारत द्विपक्षीय वार्ता: नयाँ दिल्लीमा तीनबुँदे संयुक्त घोषणा

spot_img

बारा, २४ जेठ। भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच शनिबार नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुगेका मन्त्री खनाल र उनीबीच दुई देशको हित र आपसी सहयोगका विविध आयाममा केन्द्रित रहेर गहन छलफल भएको हो । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार बैठकका क्रममा व्यापार तथा आर्थिक सहयोग, सीमापार सम्पर्क (कनेक्टिभिटी), ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र खेलकुदका माध्यमबाट जनस्तरको सम्बन्ध प्रवर्द्धन गर्नेजस्ता महत्वपूर्ण विषयहरूमा व्यापक समीक्षा गरिएको थियो । वार्ताका क्रममा दुवै देशका मन्त्रीहरूले दुई निकट छिमेकीबीचको दिगो र ऐतिहासिक साझेदारीलाई अझ सुदृढ पार्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

बैठकको विशेष आकर्षणका रूपमा दुई मन्त्रीहरूले तीनबुँदे संयुक्त घोषणा गरेका छन्, जसले नेपाल र भारतबीचको डिजिटल र भौतिक पूर्वाधार विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । संयुक्त घोषणाको पहिलो बुँदामा जुन २०२३ मा एनसीएचएल र एनपीसीआईबीच भएको समझदारीअनुरूप ‘ए२ए’ क्रस बोर्डर भुक्तानी लेनदेनको औपचारिक सञ्चालन गर्ने उल्लेख छ । दोस्रो बुँदाअन्तर्गत, भारत सरकारको विकास सहयोगमा नेपालमा सफलतापूर्वक पुनर्निर्माण गरिएका भूकम्पपछिका ७२ वटा स्वास्थ्य क्षेत्र र १२ वटा सांस्कृतिक क्षेत्रका परियोजनाहरू नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

यसैगरी तेस्रो बुँदामा, ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका निम्ति राष्ट्रिय डिजिटल पूर्वाधारको सहनिर्माण गर्न काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको डिजिटल सार्वजनिक पूर्वाधार र कृत्रिम बुद्धिमत्ता (एआइ) केन्द्र तथा डिजिटल भारत भाशिनी डिभिजनबीच समझदारीपत्र आदानप्रदान गरिएको छ । वर्तमान सरकार गठन भएपछिको यो पहिलो उच्चस्तरीय भारत भ्रमण पूरा गरी परराष्ट्रमन्त्री खनाल आइतबार (आज) स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर