बारा, १७ असार । मधेस प्रदेशसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको बजेट र विषयगत मन्त्रालयका शीर्षकहरूमाथि केन्द्रित रहेर छलफल सुरु हुने भएको छ।
प्रदेश विनियोजन विधेयक अन्तर्गतका विभिन्न शीर्षकहरूमा विस्तृत छलफल चलाउनका लागि आज दिउँसो १ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ।
प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाका अनुसार आजकै बैठकबाट सरकारको विनियोजन विधेयकमाथिको छलफललाई औपचारिक रूपमा अगाडि बढाउने सम्भावित कार्यसूची तय गरिएको छ।
यसअघि मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो। सरकारले ल्याएको यस बजेटमा विशेष गरी कृषि क्षेत्रमा नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकास र सुधारलाई मुख्य प्राथमिकतामा राखिएको छ।
आज बस्ने प्रदेशसभा बैठकमा तिनै प्राथमिकता र मन्त्रालयगत बजेटको बाँडफाँटमाथि सांसदहरूले आफ्ना धारणा र सुझावहरू राख्नेछन्।



