बारा,१२ साउन । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट, अस्पतालमा तोडफोड तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै नेपाल चिकित्सक संघको आह्वानमा मंगलबार देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवाहरू बन्द गरिएका छन्। यसको प्रभाव बाराको प्रादेशिक अस्पताल कलैयामा पनि परेको छ।
ओपिडी सेवा पूर्ण रूपमा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरू चेकजाँच नै नगराई घर फर्किन बाध्य भएका छन्। अस्पतालमा आकस्मिक सेवा भने सञ्चालनमा रहेको छ।
नारायणी अस्पतालका चिकित्सकहरूले घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही, प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजिनामा माग गरेका छन् ।चिकित्सकहरुले सम्बन्धित अधिकारीहरू पदमा रहुञ्जेल नियमित सेवामा नफर्किने अडानसमेत गरेका छन्।
नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिको प्रशासनिक व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै मंगलबार देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको हो।
गत साउन ९ गते वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै अस्पतालमा तोडफोड गरिएको थियो। घटनामा घाइते भएका डा. रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
उक्त घटनापछि दोषीलाई तत्काल कानुनी कारबाही गर्नुपर्ने माग गर्दै चिकित्सकहरूले देशव्यापी रूपमा ओपिडी सेवा बन्द गरेका हुन्। आन्दोलनका कारण कलैयासहित देशका विभिन्न सरकारी अस्पतालमा दैनिक उपचार सेवा प्रभावित भएको छ भने हजारौं सेवाग्राही मर्कामा परेका छन्।
यता नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालका करिब ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् ।



