बारा, २२ साउन । नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा निर्माणका लागि प्रस्तावित ट्रमा सेन्टरको वर्तमान अवस्थाबारे सरकारसँग स्पष्ट धारणा माग गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले विगतमा २० करोड र पछि २ करोड रुपैयाँ विनियोजन हुनुका साथै चार बिघा जमिनसमेत छुट्याइसकिएको यो रणनीतिक आयोजना वर्तमान सरकारको प्राथमिकतामा नपरेको भन्दै आपत्ति जनाए।
बजेट भाषणमा अर्थमन्त्री र सदनमा स्वास्थ्यमन्त्रीले मधेश प्रदेशमा ट्रमा सेन्टर बनाउने भने पनि ढल्केबरको नाम नलिएकामा दुःख व्यक्त गर्दै सांसद यादवले दुर्घटनाको उच्च जोखिम र जनसङ्ख्याको अनुपातका आधारमा ढल्केबर नै ट्रमा सेन्टरका लागि सबैभन्दा उपर्युक्त स्थान भएको तर्क गरे।
पूर्व-पश्चिम र कोशी राजमार्गको संगमस्थलमा प्रस्तावित उक्त आयोजनालाई पन्छाएर सरकारले विकासका मुद्दामा राजनीति गर्न खोजेको आरोप लगाउँदै उनले “ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर कता हरायो?” भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।




