Saturday, August 8, 2026

चुरियामाईमा भारतीय टेलरको ठक्करले पाँच सवारी साधनमा क्षति

बारा, २३ साउन । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक हेटौँडा–पथलैया सडक खण्डमा बिहीबार राति एक भारतीय टेलर ट्रकले ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई पाँच वटा सवारी साधनलाई एकसाथ ठक्कर दिएको छ।

राति करिब १० बजे हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको HR 69 D 7969 नम्बरको भारतीय टेलर ट्रकले विपरीत लेनमा गएर पथलैयातर्फबाट जाँदै गरेका सवारीहरूलाई जुधाएको हो।

दुर्घटनामा चितवन भरतपुर–१० बस्ने मनोज गुरुङले चलाएको ना १ ज ६८८१ नम्बरको कार, नवलपुर–८ बस्ने दुर्गा बहादुर पौडेलले चलाएको लु.प्र.०१–००१ च ०१२४ नम्बरको भ्यान, भरतपुर–११ बस्ने आशिष श्रेष्ठले चलाएको बा १७ च ७७८३ नम्बरको ओम्नी भ्यान, हेटौँडा–८ बस्ने राजु कुमार भेटवालले चलाएको ना ४ च ५३३४ नम्बरको योद्धा पिकअप र हेटौँडा–९ बस्ने नितेश पौडेलले चलाएको बा.प्र.०३–००१ ज ३६२ नम्बरको ईभी गाडीमा क्षति पुगेको छ।

दुर्घटनाग्रस्त सवारी साधनहरूको अगाडिको भाग, सिसा र साइडमा ठूलो भौतिक क्षति भए तापनि सौभाग्यवश कुनै मानवीय क्षति भने भएको छैन। दुर्घटना गराएपछि भारतीय टेलरका चालक फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट करिब १० किलोमिटर उत्तरमा भएको उक्त दुर्घटनाका कारण सुरुमा राजमार्ग एकतर्फी मात्र सञ्चालनमा आएको थियो।

प्रहरीले क्रेनको प्रयोग गरी पल्टिएको ट्रक तथा क्षति पुगेका सवारी साधनहरूलाई पन्छाएर कार्यालयतर्फ ल्याएपछि गए राती २ बजेदेखि राजमार्ग दुवैतर्फ पूर्ण रूपमा सुचारु भएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर