बारा, २४ साउन । तीन दिनदेखि बेपत्ता भएका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर एवं नेपाली कांग्रेसका स्थानीय नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन्।
६५ वर्षीय सिंहको शव आइतबार कपिलवस्तुको गोरुसिंगेस्थित जंगल क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टले जानकारी दिएका छन्।
गत शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित आफ्नै निवासबाट निस्कनुभएका सिंह त्यसपछि परिवार र आफन्तको सम्पर्कविहीन भए्का थिए। खोजीका क्रममा उनले प्रयोग गर्दै आएको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको थियो। मोटरसाइकल भेटिएपछि प्रहरीले उहाँको खोजी कार्यलाई तीव्रता दिएको थियो।
सिंहको खोजीका लागि प्रहरीले गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरका साथै ड्रोन प्रविधिको समेत प्रयोग गरेको थियो। तर, खोजी पश्चात् आइतबार उनको शव जंगलमा मृत फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




