Sunday, August 9, 2026

शासकीय अराजकताबारे बोल्नुपर्छ, विधिको शासनभन्दा बाहिर जाने छुट सरकारलाई छैन: गगन थापा

बारा, २४ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्यसका विरुद्ध पार्टीले सशक्त रूपमा आवाज उठाउनुपर्ने बताएका छन्।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा प्रस्तुत गर्ने क्रममा सभापति थापाले कार्यपालिकाको स्वेच्छाचारी शैली र शक्ति पृथकीकरणको सिद्धान्तविपरीतका गतिविधिप्रति आपत्ति जनाएका हुन्। प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई उद्धृत गर्दै थापाले द्रुत गतिमा काम गर्ने नाममा कानुन र विधिको सीमा मिच्न नपाइने स्पष्ट पारे।

“मेरो गाडीमा ब्रेक छैन, एक्सप्रेस वेमा हिँडेको छ भनेर प्रधानमन्त्रीले भन्नुभयो,” थापाले भने, “गतिमा हिँड्नु सरकारको छनोट हुन सक्छ, तर लेन मिच्ने छुट कसैलाई छैन। विधिको शासनभन्दा बाहिर जाने छुट सरकारलाई छैन।” एकपटक वा दुईपटकको गल्तीलाई संयोग वा भूल मानेर पन्छाउन सकिए पनि निरन्तर दोहोरिने यस्ता असंवैधानिक कदमलाई अब माफी दिन नसकिने उनले चेतावनी दिए।कार्यपालिकाले आफ्नो संवैधानिक सीमाको बेवास्ता गर्दै अन्य राज्य संयन्त्रमाथि हस्तक्षेप बढाएको आरोप थापाले लगाए।

उनले सरकारले न्यायपालिका, संसद् र संवैधानिक निकायहरूलाई समेत आफ्नै आदेश पालकका रूपमा व्यवहार गर्न थालेको दाबी गरे। “अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई प्रधानमन्त्रीको कार्यकक्षमा थुन्नेसम्मका अराजक गतिविधि भएका छन्,” उनले प्रश्न गरे, “के नेपाल अहिले शासकीय अराजकताबाट आक्रान्त भएको छैन?” शासकीय अराजकताको यस्तो प्रवृत्तिले लोकतन्त्र र विधिको शासनलाई प्रत्यक्ष चुनौती दिएको भन्दै सभापति थापाले कांग्रेसले अब यसबारे चुप लागेर नबस्ने र दृढतापूर्वक खबरदारी गर्ने बताए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर