बारा, २६ साउन । वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित सडक खण्डबाट प्रहरीले स्रोत नखुलेको नगद ५२ लाख ५० हजार रुपैयाँसहित बाराका दुई जनासहित चार जनालाई नियन्त्रणमा लिएको छ।
सोमबार साँझ ६:३० बजे आदर्शनगरमा प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकी खानतलासी गर्ने क्रममा उक्त रकम फेला परेको हो।
पक्राउ पर्नेहरूमा भारतको बिहार स्थित सीतामढी जिल्ला, डुमरा थाना–६ बस्ने २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ बस्ने ३२ वर्षीय उपेन्द्र साह र सोही ठाउँका २६ वर्षीय सागरकुमार सर्राफ तथा पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठी बस्ने २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।
प्रहरीका अनुसार सुरज कर्णको साथबाट १ लाख रुपैयाँ, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार रुपैयाँ, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार रुपैयाँ र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद गरिएको छ। बरामद रकममध्ये १ हजार दरका ४ हजार ५ थान नोट (४० लाख ५ हजार), ५ सय दरका २ हजार ३ सय ५३ थान नोट (११ लाख ७६ हजार ५ सय), १ सय दरका ६ सय ४३ थान नोट (६४ हजार ३ सय) र ५० दरका ८४ थान नोट (४ हजार २ सय) रहेका छन्।
बरामद नगद र दुई थान मोटरसाइकलसहित चारै जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।




