बारा, २६ साउन । जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने उद्देश्यले ‘उज्यालो परियोजना’ सञ्चालन गर्ने भएको छ।
उपमहानगरपालिकाका ८ वटा सामुदायिक आधारभूत विद्यालयमा सूर्य नेपाल प्रालिको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत करिब ६५ लाख रुपैयाँको लागतमा यो परियोजना कार्यान्वयन हुन लागेको हो। ‘जिरो एजुकेशन पोभर्टी’ अर्थात् शून्य शैक्षिक गरिबी अवधारणामा आधारित उक्त परियोजना सञ्चालनका लागि युनाइटेड वल्र्ड स्कुल्स नेपाल, जीतपुरसिमरा उपमहानगरपालिका र सहभागी विद्यालयहरूबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।
परियोजना लागू हुने विद्यालयहरूमा वडा नं. १० स्थित श्री ने.रा. आधारभूत विद्यालय नितनपुर र श्री ने.रा. आधारभूत विद्यालय बेहेरा बलुवा, वडा नं. २० स्थित बिक्रम आधारभूत विद्यालय बसतपुर र दुलारीमाई आधारभूत विद्यालय बस्डिलवा रहेका छन्। यसैगरी वडा नं. ११ को श्री ने.रा. आधारभूत विद्यालय अमाडार र श्री ने.रा. आधारभूत विद्यालय खैरवा, वडा नं. ८ को श्री ने.रा. आधारभूत विद्यालय लोसन्डा तथा वडा नं. ६ को श्री ने.रा. आधारभूत विद्यालय नगौलमा यो कार्यक्रम सञ्चालन हुनेछ।
सम्झौतापत्रमा युनाइटेड वल्र्ड स्कुल्स नेपालका प्रतिनिधि अशोक घिमिरे, नगरप्रमुख राजन पौडेल तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षहरूले हस्ताक्षर गर्नुभएको छ।
नगरप्रमुख राजन पौडेलका अनुसार उपमहानगरपालिकाले गरेको सर्वेक्षणमा संस्थागत विद्यालयमा मध्यम तथा उच्च वर्गका बालबालिका पढ्ने र सामुदायिक विद्यालयमा दलित, विपन्न तथा मुस्लिम समुदायका बालबालिका अध्ययनरत रहेको देखिएको छ।
सर्वेक्षणले सामुदायिक विद्यालयका विद्यार्थीहरूको सिकाइ स्तर निकै कमजोर रहेको र कक्षा ३ मा सिक्नुपर्ने आधारभूत ज्ञान कक्षा ८ सम्म पुग्दा पनि हासिल हुन नसकेको गम्भीर अवस्था उजागर गरेको छ। यसै समस्यालाई सम्बोधन गर्दै विद्यार्थीहरूलाई आधारभूत रूपमा पढ्न, अक्षर चिन्न र लेख्न सक्षम बनाउने लक्ष्य परियोजनाले लिएको छ।
एक वर्षको अवधि रहने यस परियोजनाअन्तर्गत विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधार, शिक्षक तथा प्रधानाध्यापकको क्षमता अभिवृद्धि, र आधुनिक शिक्षण–सिकाइ सामग्रीको प्रयोगमा सहयोग पुर्याइनेछ। साथै, विद्यार्थी तथा शिक्षकको नियमित उपस्थिति सुनिश्चित गर्दै आमा समूह, छात्रा समूह र विद्यालय अवधारणा टोलीमार्फत अभिभावक तथा समुदायको सक्रिय सहभागिता गराइनेछ। परियोजनाले बाल संरक्षणलाई प्राथमिकतामा राख्दै विद्यालयमा हुने कुनै पनि हिंसा वा दुव्र्यवहारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्नेछ।




