बारा, २६ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाका पीडित तथा प्रभावित परिवारको न्याय, दीर्घकालीन नीतिगत स्पष्टता र सुरक्षा व्यवस्थासहितका छबुँदे माग राख्दै आमरण अनशनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले तत्कालका लागि अनशन स्थगित गरेका छन्।
यादव गत साउन १४ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा आमरण अनशनमा बसेका थिए। अनशनको १३औँ दिनसम्म पनि हिन्दु हितको संरक्षण तथा प्रवद्र्धन नहुँदासम्म आन्दोलन जारी राख्ने र आवश्यक परे आमरण अनशनजस्तो कठोर सत्याग्रह गर्नसमेत पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए।
तर, सरकारले यादवले अघि सारेका माग सम्बोधन गर्ने प्रतिबद्धतासहित चारबुँदे लिखित सहमति गरेपछि तत्कालका लागि आमरण अनशन स्थगित गरिएको राष्ट्रिय एकता दलले जनाएको छ।
दलका केन्द्रीय सदस्य मानिष पूर्वेले जारी गरेको प्रेस विज्ञप्तिमा सुनसरी घटनाका पीडित तथा प्रभावित परिवारका पक्षमा सरकारले गरेको प्रतिबद्धताअनुसार यथाशीघ्र काम हुने विश्वास व्यक्त गरिएको छ।
त्यस्तै, अध्यक्ष यादवले उठाएका अन्य मागप्रति समेत सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै ती माग पूरा गर्न सरकारले त्वरित पहल गर्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रिय एकता दलले हिन्दुवादी आन्दोलनलाई पूर्णता र निष्कर्षमा पुर्याउन आफूहरू प्रतिबद्ध रहेको जनाएको छ। हिन्दुको ऐतिहासिक निरन्तरता र राष्ट्रिय पहिचानप्रतिको चेतना अभिवृद्धिका लागि आगामी दिनमा विकसित घटनाक्रमअनुसार आवश्यक आन्दोलन गर्न दल सदैव तयार रहने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।




