बारा, २७ साउन । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट स्रोत नखुलेको ५१ लाख ३४ हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज.१० प ८६५२ नम्बरको स्कुटरलाई रोकेर जाँच गर्दा स्कुटरको डिकी, फर्स्ट बटन र कालो झोलाभित्र लुकाइराखिएको अवस्थामा उक्त रकम बरामद गरेको हो। बरामद रकममा १ हजार दरका ३,५०० थान, ५०० दरका ३,१०८ थान, १०० दरका ७०० थान र ५० दरका २०० थान नोट रहेका छन्।
नियन्त्रणमा लिने क्रममा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा सवारी चालक महोत्तरी गौशाला नगरपालिका–१२ का ५७ वर्षीय जगन्नाथ महतो कोईरी घाइते भएका छन्।
उनको म्याक्स अस्पताल, मलङ्गवामा सामान्य अवस्थामा उपचार भइरहेको छ। उक्त कारबाहीका क्रममा घाइते भएका प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी जवान रामचन्द्र प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि डिस्चार्ज भइसकेका छन्।
प्रहरीले बरामद रकम, स्कुटर र घाइते कोईरीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।




